पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विद्यार्थीको प्रदर्शन

Sambad desk
पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विद्यार्थीको प्रदर्शन

काठमाडौं : पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि विरोध गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड – माधव समूहनिकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले प्रदर्शन गरेको छ।

विद्यार्थीहरूले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि सरकारले तत्काल फिर्ता लिनुपर्ने भन्दै देशभरका क्याम्पसअगाडि विरोध प्रदर्शन गरेका हुन्।

विद्यार्थीहरूले कालोपट्टी बाँधेर नाराबाजी गरेका थिए। मूल्यवृद्धि फिर्ता गर, महँगी बढाउन पाइँदैन, जनतामाथि ऋणको भार यही हो तिम्रो समाजवाद लगायतका नारा लगाएका थिए।

काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस अगाडि विद्यार्थीहरूले टायर बालेर विरोध प्रदर्शन गरेका थिए। विद्यार्थीहरूले बालेको टायर प्रहरीले नियन्त्रणमा लिएर निभाएको थियो।

आन्दोलनरत विद्यार्थीहरूले नेपाल आयल निगमले एक सातामै दुईपटक पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै तत्काल मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन्।

नेपाल आयल निगमले मंगलबार रातिदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको छ। यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय १४ रुपैयाँ पुगेको छ. डिजेल ९७ रुपैयाँ, मट्टीतेल ९७ रुपैयाँ र हवाई इन्धन ६७ रुपैयाँ कायम गरिएको छ।

प्रकाशित: February 18, 2021

Leave a Comment