अभिनेता सुशान्त सिंह राजपुतको नाममा राष्ट्रिय अवार्ड स्थापना गर्ने तयारी

मुम्बई– भारत सरकारले दिवंगत बलिउड अभिनेता सुशान्त सिंह राजपुतको नाममा राष्ट्रिय अवार्ड स्थापना गर्ने तयारी शुरु गरेको छ ।
अभिनयको माध्यमबाट छोटो समयमा नै बलिउडमा लोकप्रिय बनेका यी अभिनेताको नामलाई स्मरणीय बनाउनका लागि राष्ट्रिय अवार्ड स्थापनाको तयारी गरिएको हो । भारतीय जनता पार्टी निकट एक स्रोतले यो योजनाको तयारी भइरहेको पुष्टि गरेको छ ।
अभिनेता सुशान्तको निधनको एक वर्ष पुग्न लाग्दा पनि सरकारको तर्फबाट केही काम नगरिएको भन्दै बलिउडमा केही पक्षले आलोचना गर्न थालिसकेका छन् । उनको बारेमा बायोपिक फिल्म बनाउने भनिए पनि त्यसले निरन्तरता पाउन सकेको छैन ।
सुशान्तको गत वर्षको जुन १४ मा निधन भएको थियो । उनको शव उनकै कोठामा झुण्डिएको अवस्थामा फेला परेको थियो ।
(एजेन्सी)