‘नेपाल – भारत रेल सेवा’ दुवै पक्षले कूटनैतिक पत्रमा गरे हस्ताक्षर

Sambad desk
‘नेपाल – भारत रेल सेवा’  दुवै पक्षले कूटनैतिक पत्रमा  गरे हस्ताक्षर

काठमाडौं ।  भारत र नेपालले ‘भारत–नेपाल रेल सेवा सम्झौता २००४’ का लागि आदानप्रदान पत्र (विनिमय पत्र) मा हस्ताक्षर गरेको छ ।

दुई देशका सरकारबीच आज मिति २०७८ आषाढ २५ गते एक भर्चुअल समारोहका बीच कूटनैतिक पत्र (Note Verbale) तथा दुवै पक्षले हस्ताक्षर गरेको विनिमय पत्र आदानप्रदान भयो । भारतका तर्फबाट सो समारोहको नेतृत्व भारतीय रेल मन्त्रालय अन्तर्गतको परिचालन एवम् व्यवसाय विकास विभागका सदस्य श्री सञ्जय कुमार मोहांतीले गरेकाे थियो भने नेपालका तर्फबाट समारोहको नेतृत्व नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव श्री दिनेश भट्टराईले गरेकाे थियो ।

यस समारोहमा नेपालका लागि भारतीय राजदूत श्री विनय मोहन क्वात्रा, भारतका लागि नेपाली राजदूत श्री नीलाम्बर आचार्य, भारतीय विदेश मन्त्रालय उत्तरी प्रभागका सह सचिव श्री अनुराग श्रीवास्तव, परराष्ट्र मन्त्रालय नेपाल अन्तर्गत दक्षिण एसिया विभागका सह सचिव श्री तीर्थराज वाग्ले उपस्थित थियाे । साथै दुवै देशका दूतावास एवम् सम्बन्धित मन्त्रालयका प्रतिनिधिहरुको पनि सो समारोहमा उपस्थिति थियो ।

विनिमय पत्र को हस्ताक्षरसँगै सार्वजनिक तथा निजी कन्टेनर सञ्चालक, मोटरगाडी माल रेल सञ्चालक, विशेष मालसामान रेल सञ्चालक वा भारतीय रेल्वेले स्वीकृत गरेका अन्य माल ढुवानी सञ्चालक लगायतका सबै अधिकार प्राप्त कार्गो रेल सञ्चालकहरुले नेपाल आउने कन्टेनर र अन्य भारत र नेपालबीच ओसारपोसार हुने मालसामान र तेस्रो मुलुकबाट आएका सामान भारतका बन्दरगाहबाट नेपालसम्म ल्याउन भारतीय रेलमार्ग सञ्जालको प्रयोग गर्न पाउनेछन् ।

यो नयाँ प्रावधानले नेपालको बजार शक्तिको पहुँचलाई विस्तार गर्नुका साथै सामानको ढुवानीलाई थप प्रभावकारी बनाई एवम् मूल्य प्रतिस्पर्धामा वृद्धि गरी नेपाली व्यापारी, ढुवानीकर्ता र उपभोक्ताहरुलाई लाभान्वित तुल्याउने छ ।  अझ, यस एल.अाे.इ.  पश्चात, भारतको रेल सञ्जालमा सञ्चालन हुने सबै किसिमका मालबाहक रेलले भारत र नेपालबीच मालसामान ओसारपसार गर्नेछ । यसले विशेष प्रकारका मालडिब्बामा बोकिने मोटरगाडी र अन्य केही वस्तुहरुको ढुवानी खर्चमा कमी ल्याउनेछ । क्ष्च् मापदण्ड र प्रक्रिया अनुरुप नेपाल रेलवे कम्पनीको स्वामित्वमा रहेका मालडिब्बाहरुले भारतीय रेल सञ्जालमा (कलकत्ता/हल्दियादेखि विराटनगर/वीरगंज रुटहरुमा) नेपाल आउने मालसामानहरु बोक्न पाउनेछन् ।

एल.अाे.इ. ले भारत–नेपाल रेल सेवा सम्झौंताका अन्य थुप्रै पक्षहरुलाई अद्यावधिक गर्नुका साथै भारतीय र नेपाली रेलवेका परिचालन र पूर्वाधार सम्बन्धी नवीन पक्षलाई पनि समेट्दछ । ‘छिमेकी पहिलो’ नीति अन्तर्गत क्षेत्रीय कनेक्टिभिटी विस्तार गर्न हेतु भारतका थुप्रै प्रयासहरुमध्ये यो अर्को एउटा प्रयास हो ।

प्रकाशित: July 9, 2021

Leave a Comment