हुम्लाको लिमीमा सकियो जनगणना

Sambad desk
हुम्लाको लिमीमा सकियो जनगणना

सिमकोट, ७ मङ्सिर : राष्ट्रिय जनगणना, २०७८ अन्तर्गत उच्च हिमाली जिल्ला हुम्लामा करिब ८० प्रतिशत गणना सम्पन्न भएको छ । गत कात्तिक २५ गतेदेखि सुरु भएको मूल जनगणना यही मङ्सिर ९ गते सकिँदैछ । जनगणना कार्यालयका प्रमुख विनोद भट्टका अनुसार उत्तरी भेगको नाम्खा गाउँपालिका–६ लिमीमा जनगणना सम्पन्न भएको छ ।

निर्धारित समयअगावै स्थानीय गणकले विवरण सङ्कलनको काम सम्पन्न गरेका हुन् । लिमीको हल्जी, तिल र जाङ्ग गाउँमा विवरण सङ्कलन सकिएको गणक तन्जिन फुर्बु तामाङले जानकारी दिनुभयो । सात गाउँपालिका रहेको हुम्लामा ४४ वडा छन् । जिल्लाका ४४ मध्ये वडा नं ६ लिमी जनगणना पूरा हुने पहिलो वडा भएको छ । गणक सदरमुकाम सिमकोटबाट चार दिन हिँडेर लिमी पुगेका थिए । उनीहरुले गत मङ्सिर २५ गतेदेखि विवरण सङ्कलन सुरु गरेका थिए ।

गणक तामाङले स्थानीयवासीको सहयोगमा समयभन्दा अगावै प्रश्नावली भर्ने काम सम्पन्न भएको बताउनुभयो । यसपटकको गणनामा लिमीका १४७ घरधुरीको विवरण सङ्कलन भएको छ । जडीबुटी सङ्कलनले गणकलाई फारम भर्न समस्या जिल्लाका अधिकांश नागरिक यतिबेला वनमा जडीबुटी सङ्कलन गर्न गएका छन् ।

यसले उनीहरुको विवरण सङ्कलन तथा फारम भर्न समस्या भएको प्रमुख भट्टले बताउनुभयो । “अधिकांश नागरिक जडीबुटी सङ्कलनका लागि वनपाखातिर गएका छन्”, उहाँले भन्नुभयो । जडीबुटी सङ्कलन गर्न गएका कारण समस्या भएको गणकले गुनासो गरेका छन् । सिमकोट–१ र २, खार्पुनाथ गाउँपालिका–२, ३ र ५, चङ्खेली गाउँपालिका–५ का बासिन्दा यतिबेला जडीबुटी सङ्कलन गर्न वन गएका छन् । उनीहरु पुसपछि मात्रै घर फर्किन्छन् ।(रासस)

प्रकाशित: November 23, 2021

Leave a Comment