कांग्रेस १४ औं महाधिवेशन: मनोनयन दर्ता सुरू

Sambad desk
कांग्रेस १४ औं महाधिवेशन: मनोनयन दर्ता सुरू

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार मनोनयन दर्ता कार्यक्रम राष्ट्रिय सभा गृहमा सुरू भएको छ । पार्टीले सार्वजनिक गरेको महाधिवेशन कार्यसूची अनुसार साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ।

उम्मेदवारी मनोनयन दर्ता उपर दाबी विरोध र जाँचबुझका लागि आजै साँझ  ५ देखि ७ बजेसम्मको समय तोकिएको छ। त्यस्तै बेलुका ७ देखि ९ बजेसम्ममा दाबी विरोध उपर निर्णय हुनेछ।

त्यसपछि राति १२ बजेसम्म उम्मेदवारहरूको पहिलो नामावली प्रकाशन गर्ने र मनोनयनपत्र फिर्ता लिन चाहनेले भोलि (आइतबार) बिहान ११:०० बजेसम्म फिर्ता गरेपछि दिउँसो १२:१५ बजे अन्तिम नामावली प्रकाशन गरिने कार्यक्रम छ।

सोमबार बिहान ८ बजेबाट नयाँ कार्यसमिति चयनका लागि मतदान हुनेछ।

कांग्रेसले यसपटकको महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नेछ। यसअघि शुक्रबार नै सुरू भएको बन्दसत्रमा तीन वटा प्रतिवेदन पेस गरिएका छन्।

महाधिवेशनमा चार हजार ७४३ प्रतिनिधि सहभागी छन्।

कांग्रेसमा संस्थापन र संस्थापनइतर समूह प्यानलसहित चुनावी मैदानमा उत्रने तयारीमा छन्। तर दुवै समूहले उम्मेदवारको टुंगो अझै लगाएका छैनन्।

प्रकाशित: December 11, 2021

Leave a Comment